हेटौँडा : नेकपा एमालेका केन्द्रीय सदस्य एवम् विघटित संसदका प्रमुख सचेतक महेश बर्तौलाले आगामी निर्वाचनमा बागमती प्रदेशका ३३ निर्वाचन क्षेत्रमध्ये अधिकांशमा एमालेले जित हासिल गर्ने बताएका छन् । मकवानपुर–२ बाट उम्मेदवार रहेका बर्तौलाले एमाले अहिले बहुमत स्थानमा विजय हासिल गर्ने गरी सांगठनिक तयारीमा जुटेको बताउनुभयो ।
गत २०७९ को निर्वाचनमा एमालेले बागमती प्रदेशमा विपक्षी गठबन्धनका कारण सोचे जस्तो मत प्राप्त गर्न नसकेको उनले बताए । आगामी निर्वाचनमा सबै दलहरु एकल प्रतिस्पर्धामा उत्रिने वातावरण बनेकाले एमालेका लागि परिस्थिति अनुकूल रहेको बर्तौलाको विश्लेषण छ । ‘गत निर्वाचनमा एमाले एक्लै गठबन्धनका विरुद्ध लड्नुपरेको थियो । गठबन्धनको मतभारका सामु हाम्रो मतले चुनौती सामना गर्न सकेन । जसका कारण धेरै ठाउँमा पराजित हुनुपर्यो’, समृद्ध समाजसँग कुरा गर्दै उनले भने, ‘बागमतीका ३३ मध्ये ४ सिटमा खुम्चिनुको मुख्य प्राविधिक कारण दलहरुबीचको मोर्चाबन्दी भएको थियो । अहिले त्यो (गठबन्धनको) अवस्था छैन । हामी एकल प्रतिस्पर्धाको प्रक्रियाबाट अगाडि बढेका छौँ । आफ्नो मतको संरक्षण गर्न सक्दा एमालेले सहजै जित हासिल गर्छ ।’
पछिल्लो समय युवा पुस्ता र ‘जेनजी’ आन्दोलनका नाममा एमालेमाथि ‘प्रायोजित भ्रम’ सृजना गरी प्रहार गर्ने काम भइरहेको उनको भनाई छ । डिजिटल मिडिया र सामाजिक सञ्जालका ‘एल्गोरिदम’ प्रयोग गरेर एमालेविरुद्ध तथ्यहीन र असत्य कुराहरू फैलाइएको उनको आरोप छ । देशको स्वाधीनता, राष्ट्रियता र भौगोलिक अखण्डताका लागि एमालेको अडान नै चुनाव जित्ने मुख्य आधार भएको उनको दावी छ । निर्वाचनमा अन्तिम फैसला जनताकै हुने र हरेक निर्वाचन क्षेत्रका मतदाता आफ्नो प्रतिनिधि छान्न सार्वभौम रहेको उनले बताए ।
‘भ्रम सिर्जना गरेर विजय हासिल गर्न सकिन्छ भन्ने एउटा प्रायोजित प्रयत्न भइरहेको छ । तर, तथ्यले पुष्टि नगरेका काल्पनिक कुराहरुले सधैं काम गर्दैनन् । सत्य कुरा जनतालाई बुझाउनु अहिले हाम्रो मुख्य चुनौती हो’, उनले थपे, ‘जनताले देशको रक्षाका निम्ति एमालेलाई विजयी गराउनुपर्छ भन्ने मनोविज्ञान बनाएका छन् । पार्टीभित्रको सुदृढ एकता र जनताको मुद्दा बोक्ने क्षमताका कारण हामी फेरि बलियो शक्तिका रुपमा उदाउनेछौँ ।’
२०७९ को निर्वाचन परिणाम कसले कहाँ जितेका थिए ?
गत निर्वाचनमा बागमतीका ३३ निर्वाचन क्षेत्रबाट कांग्रेसले १३, रास्वपाले ७, नेकपाले ६, एमालेले ४, राप्रपाले २ र नेमकिपाले १ क्षेत्रमा चुनाव जितेको थियो । कांग्रेसबाट (१३ सिट) काठमाडौं–१ प्रकाशमान सिंह, काठमाडौं–३ सन्तोष चालिसे, काठमाडौं–४ गगनकुमार थापा, काठमाडौं–५ प्रदीप पौडेल, काठमाडौं–१० राजेन्द्रकुमार केसीले चुवान जितेका थिए भने ललितपुर–१ उदय शमशेर राणा, भक्तपुर–२ दुर्लभ थापा क्षेत्री, सिन्धुपाल्चोक–२ मोहनबहादुर बस्नेत, नुवाकोट–२ अर्जुननरसिंह केसी, धादिङ–२ रामनाथ अधिकारी, सिन्धुली–१ श्यामकुमार घिमिरे, रामेछाप–१ पूर्णबहादुर तामाङ (कान्छाराम), रसुवा–१ मोहन आचार्यले चुनाव जितेका थिए ।
रास्वपाबाट (७ सिट) काठमाडौं–२ सोविता गौतम, काठमाडौं–६ शिशिर खनाल, काठमाडौं–७ गणेश पराजुली, काठमाडौं–८ विराजभक्त श्रेष्ठ, ललितपुर–३ डा. तोसिमा कार्की, चितवन–१ हरि ढकाल र चितवन–२ रवि लामिछानेले चुनाव जितेका थिए । हालको नेकपाले (६ सिट) काभ्रे–१ सूर्यमान दोङ, सिन्धुपाल्चोक–१ माधव सापकोटा, नुवाकोट–१ हितबहादुर तामाङ, सिन्धुली–२ लेखनाथ दाहाल, दोलखा–१ गंगा कार्की र धादिङ–१ राजेन्द्रप्रसाद पाण्डेले निर्वाचन जितेका थिए । एमालेबाट (४ सिट) काठमाडौं–९ कृष्णगोपाल श्रेष्ठ, ललितपुर–२ प्रेमबहादुर महर्जन, काभ्रे–२ गोकुलप्रसाद बास्कोटा र मकवानपुर–२ महेशकुमार बर्तौलाले चुनाव जितेका थिए । राप्रपाबाट (२ सिट) मकवानपुर–१ दीपकबहादुर सिंह र चितवन–३ विक्रम पाण्डे, नेमकिपा (१ सिट) भक्तपुर–१ प्रेम सुवालले चुनाव जितेका थिए ।







