हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर–२ का उम्मेदवार राम बहादुर थोकरले चुनावी अभियानलाई तीव्र बनाएका छन् । चुनावी घरदैलो कार्यक्रम अन्तर्गत उनले आज हेटौँडा उपमहानगरपालिका–१९ बस्तिपुर तथा मनहरी गाउँपालिका–९ रजैयामा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।
प्रचार–प्रसार संयोजक संगीन श्रेष्ठका अनुसार थोकरले स्थानीय मतदातासँग प्रत्यक्ष भेट गरी उनीहरूका समस्या, गुनासा र अपेक्षाबारे जानकारी लिँदै राप्रपाको नीति, सिद्धान्त र भावी कार्यदिशाबारे स्पष्ट पारेका थिए । घरदैलोका क्रममा स्थानीयवासीले राप्रपाप्रति बढ्दो भरोसा र समर्थन व्यक्त गरेका छन् ।
उम्मेदवार थोकरले राष्ट्र, राष्ट्रियता र राजसंस्थाको संरक्षण आजको प्रमुख आवश्यकता भएको उल्लेख गर्दै त्यसका लागि राप्रपालाई विजयी गराउन मतदातासँग आग्रह गरे । “राष्ट्र कमजोर भयो भने जनता कमजोर हुन्छन्, राष्ट्रियता कमजोर भयो भने पहिचान हराउँछ,” उनले भने, “राष्ट्र र राष्ट्रियताको जगेर्नाका लागि राप्रपाको जित आवश्यक छ ।”
राप्रपाका केन्द्रीय सदस्यसमेत रहेका थोकरले चुनावी आश्वासनभन्दा पनि व्यवहारिक काममा विश्वास गर्ने स्पष्ट पारे । उनले जनताको सेवक भएर इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाउँदै मतदातालाई विश्वास दिलाए । “म तपाईँहरूले दिनु भएको मतको सधैँ कदर गर्नेछु । जनताको सेवक भएर काम गर्न चाहन्छु,” थोकरले भने, “भोट माग्न मात्र होइन, भोटको मूल्य बुझेर काम गर्न चाहन्छु ।”

नामटारका स्थायी बासिन्दा रहेका थोकर स्थानीय स्तरमै संघर्ष गरेर राजनीति गरेका नेता हुन् । सरल स्वभाव, जनतासँगको सहज पहुँच र स्पष्ट विचारका कारण उनी मकवानपुर–२ मा लोकप्रिय नेताका रूपमा चिनिन्छन् । घरदैलो कार्यक्रममा भेटिएका धेरै स्थानीयले थोकरलाई इमानदार, निडर र जनताको पक्षमा बोल्न सक्ने उम्मेदवारको रूपमा मूल्यांकन गरेका छन् ।
स्थानीय बासिन्दाहरूका अनुसार विगतका चुनावमा पटक–पटक अवसर पाएका दल र नेताहरूले अपेक्षित काम गर्न नसकेको अवस्थामा यसपटक राप्रपाप्रति जनआकर्षण बढेको हो । “अब भाषण होइन, काम चाहियो,” एक स्थानीय मतदाताले भने, “राप्रपाले देश र जनताको विषयमा स्पष्ट धारणा राखेको छ, त्यसैले जितेको हेर्न चाहन्छौँ ।”
मकवानपुरका दुबै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा राप्रपाले जित निकालोस् भन्ने चाहना स्थानीय तहमा व्यापक रूपमा देखिन थालेको छ । राष्ट्र, राष्ट्रियता, सुशासन र जनसेवाको मुद्दा बोकेको राप्रपाले यसपटक मकवानपुरमा नयाँ राजनीतिक सन्देश दिने विश्वास स्थानीयवासीले व्यक्त गरेका छन् ।
चुनावी सरगर्मी बढ्दै जाँदा राप्रपाको घरदैलो अभियानले मकवानपुरमा थप उत्साह र राजनीतिक चासो बढाएको देखिन्छ ।







