राप्रपा मकवानपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–२ का उम्मेदवार राम बहादुर थोकरले तलब जनताको सेवामा समर्पित गर्ने प्रतिबद्धता व्यक्त

13

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट मकवानपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–२ का उम्मेदवार राम बहादुर थोकरले निर्वाचित भएमा आफूले पाउने सम्पूर्ण तलब जनताको सेवामा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

थाहा नगरपालिका वडा नम्बर–७ अन्तर्गत चिसापानी, महादेव खर्क, देउखेललगायत विभिन्न स्थानमा आयोजित मतदाता भेटघाट कार्यक्रममा बोल्दै उम्मेदवार थोकरले जनताको हित, विकास र सुशासनलाई आफ्नो प्रमुख प्राथमिकता बनाउने बताए। उनले राजनीति व्यक्तिगत लाभका लागि होइन, जनताको सेवा र देशको समृद्धिका लागि हुनुपर्ने धारणा व्यक्त गरे।

कार्यक्रमका क्रममा स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै थोकरले क्षेत्रको विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र आधारभूत पूर्वाधारका विषयमा आफ्ना योजनाहरू प्रस्तुत गरेका थिए। उनले जनताको विश्वास र समर्थन पाएमा जनमुखी नीति तथा कार्यक्रममार्फत मकवानपुर–२ को समग्र विकासमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए।

भेटघाट कार्यक्रममा सहभागी राप्रपाका स्थानीय नेता तथा कार्यकर्ताले चुनावी अभियान निरन्तर रूपमा अघि बढिरहेको र जनताको उत्साहजनक समर्थन प्राप्त भइरहेको बताए। उनीहरूले यसपटक राप्रपाको चुनाव चिन्ह ‘हलो’मा मतदान गरी उम्मेदवार थोकरलाई विजयी गराउनेमा आफूहरू विश्वस्त रहेको धारणा व्यक्त गरे।

स्थानीय मतदाताहरूले पनि उम्मेदवार थोकरको प्रतिबद्धता र सरल जीवनशैलीप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै परिवर्तनका लागि राप्रपाले उठाएको एजेन्डालाई समर्थन गर्ने संकेत गरेका छन्। आगामी निर्वाचनलाई लक्षित गरी राप्रपाको चुनावी अभियान मकवानपुर–२ मा थप सशक्त बन्दै गएको देखिएको छ।

<