
हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रतिबन्धित लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार विशेष सूचनाका आधारमा प्रहरी कार्यालय तथा मातहतका कार्यालयबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले शनिबार हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित पूर्व–पश्चिम सडकखण्डमा चेकजाँच गरेको थियो।
चुरियामाईतर्फबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०३–००३ प.७८१२ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक हेटौँडा उपमहानगरपालिका–१२ बस्ने २४ वर्षीय अभिषेक भ्लोन तथा मोटरसाइकलमा सवार मनहरी गाउँपालिका–३, डोढे बस्ने २४ वर्षीय आशिष घलान र २७ वर्षीय बिमल सुनारलाई प्रहरीले शंकाका आधारमा नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उनीहरूको रीतपूर्वक खानतलासी गर्दा प्रतिबन्धित लागूऔषध खैरो हेरोइनजस्तो देखिने ३८ ग्राम पदार्थ फेला परेको थियो।
प्रहरीले उक्त पदार्थ तथा मोटरसाइकललाई कानुनबमोजिम बरामद गरी तीनै जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो।
प्रहरीले पक्राउ परेका व्यक्तिमाथि लागूऔषधसम्बन्धी प्रचलित कानुनअनुसार आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।
