कागेश्वरी–मनहरामा कुन्ती पोखरेलको विजय लक्ष्यसहित ४५१ सदस्यीय चुनाव प्रचार समिति गठन

8

काठमाडौँ । काठमाडौँ क्षेत्र नं. २ अन्तर्गत कागेश्वरी–मनहरा नगरपालिकामा प्रतिनिधिसभा उम्मेदवार कुन्ती पोखरेललाई विजयी गराउने लक्ष्यसहित ४५१ सदस्यीय चुनाव प्रचार–प्रसार समिति गठन गरिएको छ। आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै स्थानीय स्तरमा संगठनलाई मजबुत बनाउने उद्देश्यका साथ समिति गठन गरिएको हो।

काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडाको प्रमुख आतिथ्य तथा राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका केन्द्रीय अध्यक्ष सुजित के.सी.को विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा मणि सिंखडाको अध्यक्षतामा प्रचार समिति गठन गरिएको हो। कार्यक्रममा पार्टीका जिल्ला, नगर तथा वडा तहका नेता–कार्यकर्ता, शुभेच्छुक तथा स्थानीय अगुवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

नवगठित प्रचार–प्रसार समितिले निर्वाचनलाई लक्षित गरी घरदैलो अभियान, जनभेटघाट, टोल–टोलमा छलफल, संगठन विस्तार तथा मतदाता जागरण कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेको छ। स्थानीय जनतासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको समस्या, आवश्यकता र अपेक्षालाई चुनावी एजेन्डामा समेट्ने प्रतिबद्धता पनि समितिले जनाएको छ।

कार्यक्रममा वक्ताहरूले कागेश्वरी–मनहरा क्षेत्रका विकास, सुशासन, रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधारका विषयमा स्पष्ट नीति र योजनाका साथ उम्मेदवार पोखरेललाई अघि सारिएको बताएका थिए। जनताको भावना र आवाजलाई केन्द्रमा राखेर इमानदार नेतृत्वमार्फत विकास र परिवर्तन सम्भव हुने उनीहरूको धारणा थियो।

काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडाले जनविश्वास नै निर्वाचनमा विजयको मुख्य आधार भएको उल्लेख गर्दै संगठनलाई एकताबद्ध र अनुशासित रूपमा अघि बढाउन आग्रह गरे। उनले घर–घरमा पुगेर मतदातासँग संवाद गर्न सके मात्र चुनावी अभियान प्रभावकारी हुने बताए।

त्यसैगरी राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका अध्यक्ष सुजित के.सी.ले युवाको सक्रिय सहभागिताले चुनावी अभियानलाई थप सशक्त बनाउने उल्लेख गर्दै युवाहरूलाई संगठन विस्तार र प्रचार–प्रसारमा अग्रसर हुन आह्वान गरे। उनले परिवर्तनका लागि युवाको भूमिका निर्णायक हुने दाबी गरे।

कार्यक्रमको अन्त्यमा प्रचार समितिले एकताबद्ध रूपमा अघि बढ्दै उम्मेदवार कुन्ती पोखरेलको विजय सुनिश्चित गर्न सम्पूर्ण शक्ति परिचालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

<