हेटौँडा ।“राष्ट्र र शास्त्रको लागि तपाईंको एक भोट हलोमा” भन्ने मूल नारासहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य तथा मकवानपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–१ का पूर्व सांसद दीपक बहादुर सिंहले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पुनः उम्मेदवारी दिनुभएको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा उनले चुनावी प्रचार–प्रसार तथा मतदाता भेटघाट कार्यक्रमलाई तीव्र बनाउँदै स्थानीय जनतासँग प्रत्यक्ष संवादमा जुटेका छन्।
चुनावी अभियानअन्तर्गत उम्मेदवार सिंहले मकवानपुरका विभिन्न स्थानमा जनताहरू,जेन्जी पुस्ताको युवाहरू ,, बुद्धिजीवी तथा सर्वसाधारणसँग उत्साहजनक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेका छन्। ती कार्यक्रममार्फत उनले आफ्नो उम्मेदवारीको उद्देश्य, राजनीतिक प्रतिबद्धता र भावी कार्ययोजनाबारे स्पष्ट धारणा प्रस्तुत गरेका छन्। जनसमुदायलाई सम्बोधन गर्दै सिंहले भने, “मकवानपुरे जनता र देशप्रतिको माया तथा जिम्मेवारीकै कारण मैले फेरि उम्मेदवारी दिएको हुँ। जनताको सेवा गर्नकै लागि राजनीतिमा छु। जनताबाट पाउने तलबसमेत जनताकै हित र सेवामा समर्पित गर्ने मेरो प्रतिबद्धता छ।” उनको यस अभिव्यक्तिले उपस्थित जनसमुदायमा सकारात्मक सन्देश प्रवाह गरेको देखिन्थ्यो। सिंहले राष्ट्र, धर्म, संस्कृति र शास्त्रको संरक्षण आजको समयको प्रमुख आवश्यकता भएको उल्लेख गर्दै मौलिक पहिचान जोगाउँदै समृद्ध राष्ट्र निर्माणका लागि नागरिक सचेत हुनुपर्ने बताए। उनले हलो चुनाव चिह्नमा मतदान गरी राष्ट्रवादी सोचलाई बलियो बनाउन मतदातासँग आग्रहसमेत गरे। स्थानीय समस्याका सन्दर्भमा उनले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि र पूर्वाधार विकासलाई आफ्नो प्रमुख प्राथमिकता बनाएको स्पष्ट पारे।
मकवानपुर क्षेत्र नम्बर–१ का ग्रामीण तथा शहरी बस्तीमा विद्यमान समस्या समाधानका लागि संसदमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले युवालाई स्वरोजगारतर्फ आकर्षित गर्ने कार्यक्रम, कृषकलाई प्रोत्साहन गर्ने नीति तथा स्थानीय उत्पादनको बजारीकरणमा विशेष जोड दिने योजना रहेको बताए। भेटघाट कार्यक्रममा सहभागी स्थानीय बासिन्दाहरूले उम्मेदवार सिंहप्रति सकारात्मक प्रतिक्रिया जनाएका छन्।
राष्ट्रप्रतिको स्पष्ट दृष्टिकोण, जनमुखी प्रतिबद्धता र लामो राजनीतिक अनुभवका आधारमा उनी उपयुक्त उम्मेदवार भएको उनीहरूको धारणा छ।
यसैबीच, राप्रपा प्रतिनिधिसभा क्षेत्र नम्बर–१ का क्षेत्रीय अध्यक्ष उमेश थापाले उम्मेदवार दीपक बहादुर सिंहसहित पार्टीको चुनावी अभियान निरन्तर रूपमा अघि बढिरहेको जानकारी दिए। जनताको समर्थन र विश्वास राप्रपाप्रति बढ्दै गएको उल्लेख गर्दै उनले आगामी निर्वाचनमा पार्टीको चुनाव चिह्न हलोमा मतदान गरी सिंहलाई विजयी गराउनेमा आफूहरू विश्वस्त रहेको बताए।







