प्रहरी–सञ्चार सहकार्य सुदृढ बनाउन बागमती प्रदेश प्रहरीको अन्तरक्रिया

19

हेटौंडा। बागमती प्रदेश प्रहरी कार्यालय ले जिल्लामा क्रियाशील सञ्चारकर्मीहरूसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक दीपक रेग्मीको उपस्थितिमा विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूसँग परिचय आदान–प्रदान तथा समसामयिक विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा हुनसक्ने सुरक्षा व्यवस्थाबारे विस्तृत छलफल गरिएको थियो। शान्तिपूर्ण, भयरहित र निष्पक्ष वातावरणमा निर्वाचन सम्पन्न गराउन सुरक्षा निकायले अपनाउने रणनीति तथा सञ्चारकर्मीहरूले निर्वाह गर्नुपर्ने भूमिकाबारे विचार–विमर्श भएको जनाइएको छ।

सञ्चारकर्मीहरूले उठाएका जिज्ञासा तथा सुझावहरूको जवाफ दिँदै प्रहरी नायव महानिरीक्षक रेग्मीले प्रहरी र सञ्चार क्षेत्रबीच समन्वय, सहकार्य र तथ्यपरक सूचना प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले जिम्मेवार पत्रकारितामार्फत अफवाह नियन्त्रण, तथ्यमा आधारित समाचार सम्प्रेषण र शान्ति–सुरक्षा प्रवर्द्धनमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहने बताउनुभयो।

अन्तरक्रिया कार्यक्रममा जिल्लामा देखिएका गाई–गोरु तस्करी, गाँजा खेती, अफिम फडानी लगायतका आपराधिक गतिविधिबारे पनि छलफल गरिएको थियो। यस्ता अवैध क्रियाकलाप नियन्त्रणका लागि प्रहरी सक्रियतापूर्वक परिचालित रहेको र आवश्यक परे सञ्चार माध्यमको सहयोगसमेत लिइने कार्यालयले जनाएको छ।

प्रदेश प्रहरी कार्यालयले आगामी दिनमा पनि सरोकारवाला निकायसँग सहकार्य गर्दै शान्ति–सुरक्षा सुदृढीकरणमा जोड दिने जनाएको छ।

<