लागुऔषध मुक्त समाजका लागि मनहरीमा अभियान अन्तर्गत बहुआयामिक कार्यक्रम सम्पन्न

27

मकवानपुर । लागुऔषध दुर्व्यसन न्यूनीकरणलाई संस्थागत, समुदायमुखी र परिणाममुखी बनाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालय मकवानपुरको आयोजनामा तथा सिआन पुनर्स्थापना केन्द्रको व्यवस्थापनमा सञ्चालन भइरहेको ३ महिने अभियान अन्तर्गत मनहरी गाउँपालिकामा प्रभावकारी कार्यक्रमहरूको श्रृंखला सम्पन्न गरिएको छ।

अभियानको प्रमुख कार्यक्रमका रूपमा आयोजना गरिएको पालिका स्तरीय समन्वय तथा अन्तरक्रिया बैठक गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीज्यूको प्रमुख आतिथ्यता तथा प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विभिन्न शाखाका प्रमुखहरू, सुरक्षा निकाय तथा सरोकारवाला प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

बैठकले लागुऔषध नियन्त्रणलाई स्थानीय तहको साझा जिम्मेवारीका रूपमा स्थापित गर्दै लागुऔषध नियन्त्रण मार्गदर्शन २०७६ बमोजिम पालिका स्तरीय समन्वय समिति शीघ्र गठन गर्ने निर्णय गरेको छ। प्रमुख प्रशासकीय अधिकृतज्यूले नीति, योजना, तथ्याङ्क संकलन तथा कार्यक्रम कार्यान्वयनलाई एकीकृत ढंगले अगाडि बढाइने स्पष्ट पार्नुभयो।

गाउँपालिका अध्यक्षज्यूले मनहरीलाई लागुऔषध दुर्व्यसनको जोखिमबाट सुरक्षित राख्न दीर्घकालीन रणनीति आवश्यक रहेको उल्लेख गर्दै बजेट विनियोजन, युवा लक्षित कार्यक्रम, विद्यालय सचेतना, पुनर्स्थापना सहकार्य तथा जनअभियान विस्तारमा गाउँपालिकाले नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

अभियान अन्तर्गत मनहरी गाउँपालिकाका श्री भोज सिध्द विध्यालयमा विद्यार्थी केन्द्रित सचेतना कार्यक्रमहरू सञ्चालन गरिएका छन्। कार्यक्रममा लागुऔषधको शारीरिक, मानसिक, पारिवारिक तथा सामाजिक असर, कानुनी परिणाम, जीवन सीप विकास तथा सकारात्मक जीवनदृष्टि सम्बन्धी प्रशिक्षणमूलक अन्तरक्रिया गरिएको थियो। शिक्षक, अभिभावक, रिकभरिङ नेपाल बागमति प्रदेशका प्रतिनिधि व्यक्तिहरू तथा सिआन पुनर्स्थापना केन्द्रका परामर्शदाताहरूको सहभागिताले कार्यक्रमलाई अझ प्रभावकारी बनाएको थियो।

यसका साथै समुदायस्तरमा सन्देश प्रवाहलाई सुदृढ बनाउन गाउँपालिकाका मुख्य चोक, सार्वजनिक स्थल तथा बजार क्षेत्रहरूमा सन्देशमूलक होर्डिङ बोर्ड स्थापना गरिएको छ। विद्यालय बाहिर धूम्रपान निषेधित क्षेत्र जनाउने बोर्डहरू राखिनुका साथै सन्देशमूलक पर्चा तथा जनचेतनामूलक सामग्री वितरण कार्यक्रम समेत सञ्चालन गरिएको छ।

मनहरी गाउँपालिकामा सञ्चालन भएका यी कार्यक्रमहरूले लागुऔषध विरुद्धको अभियानलाई जनस्तरदेखि नीतिगत तहसम्म जोड्दै सामाजिक उत्तरदायित्व, सहकार्य र सचेतनाको सशक्त वातावरण निर्माण गरेको सरोकारवालाहरूले बताएका छन्।

<