हेटौंडा । मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार दीपक बहादुर सिंहले आफूले राजनीति जनताको सेवाका लागि गरेको बताएका छन्।
हेटौंडा उपमहानगरपालिका–४ मा आयोजित घरदैलो कार्यक्रममा बोल्दै उम्मेदवार सिंहले आफ्नो उम्मेदवारी व्यक्तिगत स्वार्थका लागि नभई जनताको हित र सेवाका लागि रहेको स्पष्ट पारे।
उनले भने, “मैले राजनीति गरेको जनताको सेवाका लागि हो, राजनीति गरेर पैसा कमाउन होइन। जनताको सुख–दुःखमा साथ दिन र विकास निर्माणका कामलाई अघि बढाउन म उम्मेदवार बनेको हुँ।”
सिंहले स्थानीय विकास, सुशासन, पारदर्शिता र जनउत्तरदायी नेतृत्वलाई प्राथमिकतामा राख्दै आफूलाई मत दिएर विजयी गराउन मतदातासँग अपिल गरे।
कार्यक्रममा राप्रपाका जिल्ला अध्यक्ष सागर थापा, नगर अध्यक्ष अरुण लामा, महिला संगठन अध्यक्ष उर्मिला लामा लगायतका नेताहरूको उपस्थिति रहेको थियो। उपस्थित नेताहरूले पनि उम्मेदवार सिंहलाई विजयी गराउन कार्यकर्तालाई सक्रिय भएर चुनावी अभियानमा लाग्न आग्रह गरेका थिए।







