
कारमा लुकाएर ल्याइएको गाँजा पिकअपले स्कर्टिङ गर्दै ल्याएको प्रहरीको भनाइ
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले १६२ किलोभन्दा बढी लागूऔषध गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले मनहरी गाउँपालिका–९, भाबरस्थित भित्री सडकखण्डबाट गाँजासहित दुई वटा सवारीसाधन र दुई जनालाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्रीको कमान्डमा परिचालित प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार २०८३ साल भदौ २३ गते बिहान करिब २ः४५ बजे भाबरबाट खरङ्गातर्फ आउँदै गरेको बा.प्र.०१–०२५ च ०८७७ नम्बरको कारलाई ग२च ६१५ नम्बरको पिकअपले स्कर्टिङ गर्दै ल्याइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको गस्ती टोलीले रोकेर जाँच गरेको थियो।
जाँचका क्रममा कारको सिटभित्र लुकाइछिपाई प्लास्टिकले बेरिएका १३ पोका गाँजा फेला परेको प्रहरीले जनाएको छ। उक्त गाँजा तौल गर्दा १६२ किलो ७९४ ग्राम रहेको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार पिकअप गाडीलाई समेत रोक्न खोज्दा चालकले भाग्ने प्रयास गरेका थिए। त्यसपछि प्रहरीले दुवै सवारीसाधन नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय मनहरीमा ल्याएको थियो।
मकवानपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेका अनुसार उनीहरूलाई मनहरी गाउँपालिकाबाट नियन्त्रणमा लिइएको हो। प्रारम्भिक सोधपुछका क्रममा पिकअप गाडीले गाँजा बोकेको कारलाई स्कर्टिङ गरेको खुलेपछि दुवै सवारीसाधनमा रहेका व्यक्तिलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको डीएसपी काफ्लेले बताए।
पक्राउ पर्नेमा चितवनको माडी नगरपालिका–५, धोबाहा बस्ने ५६ वर्षीय देव नारायण महतो र भरतपुर महानगरपालिका–२४ बस्ने ४८ वर्षीय टेकबहादुर दोङ रहेका छन्।
महतो कार चालक र दोङ पिकअप चालक रहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
