
हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित महेन्द्र राजमार्गमा म्याजिक र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।
बुधबार बिहान करिब ११ः१० बजे हेटौँडा बजारबाट नवलपुरतर्फ जाँदै गरेको प्रदेश ३–०३–००१ ज ०००१ नम्बरको म्याजिकले विपरीत दिशाबाट आउँदै गरेको ना.४३ प ७५५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
दुर्घटनामा हेटौँडा उपमहानगरपालिका–३ निवासी करिब ३४ वर्षीय आशिष पाठक घाइते भएका छन्। उनको टाउको, अनुहार, दुवै हातखुट्टा तथा छातीमा भित्री चोट लागेको प्रहरीले जनाएको छ। घाइते पाठकको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार प्रारम्भिक अवस्थामा उनको अवस्था गम्भीर रहेको थियो। दुर्घटनालगत्तै थानाभर्याङस्थित अस्थायी प्रहरी पोस्टबाट ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा पुगेको थियो।
दुर्घटनामा संलग्न दुवै सवारीसाधन तथा म्याजिक चालक हेटौँडा–३ बसामाडी निवासी करिब ५० वर्षीय लक्ष्मण बर्तौलालाई जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको नियन्त्रणमा राखिएको छ। प्रहरीका अनुसार चालकसँग कागजात रहेको र मादक पदार्थ सेवन नगरेको प्रारम्भिक जाँचबाट खुलेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले दुर्घटनामा संलग्न दुवै पक्षको उपचार भइरहेको र घटनाबारे अनुसन्धान जारी रहेको बताए।
दुर्घटनाको कारण तथा अन्य विवरणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।