Wednesday, September 16
Shadow

भोटेकोशी बाढीका मृतकप्रति हेटौँडामा श्रद्धाञ्जली

हेटौँडा रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै तथा बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न मकवानपुरमा विभिन्न राजनीतिक दल तथा नागरिक क्षेत्रका प्रतिनिधिहरू एकै ठाउँमा उभिएका छन्।

सोमबार बिहान हेटौँडा–१०, बुद्धचोकस्थित भीमसेन मन्दिर अगाडि आयोजित श्रद्धाञ्जली कार्यक्रममा सहभागीहरूले बाढीमा परी बेपत्ता तथा सम्पर्कविहीन भएका व्यक्तिहरूको सकुशल उद्धारको कामना गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको प्रार्थना गरे। साथै, विपत्तिमा ज्यान गुमाएका सबैप्रति मौनधारण गर्दै श्रद्धासुमन अर्पण गरिएको थियो।

प्राकृतिक विपत्तिले निम्त्याएको पीडामा रसुवाका प्रभावित परिवारसँग मकवानपुरवासीको दुःख र संवेदना जोडिएको सन्देश दिँदै सहभागीहरूले संकटको घडीमा पीडित परिवारलाई एक्लो महसुस हुन नदिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य प्रशान्त उप्रेती, प्रदेश सांसदहरू एकलाल श्रेष्ठ, प्रेमबहादुर पुलामी र लक्ष्मी श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामा तथा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको सहभागिता रहेको थियो।

त्यसैगरी विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, संघ–संस्थाका प्रतिनिधि, नागरिक समाजका अगुवा, मानवअधिकारकर्मी, पत्रकार तथा उद्योगी–व्यवसायीहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो।

श्रद्धाञ्जली कार्यक्रममा सहभागीहरूले विपत्तिमा ज्यान गुमाउनेप्रति श्रद्धा, बेपत्ताको सकुशल उद्धार र पीडित परिवारप्रति साथ र सहानुभूति नै मानवीय कर्तव्य भएको भाव व्यक्त गरेका थिए।

भोटेकोशीमा आएको बाढीले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गर्दै सहभागीहरूले विपत्तिको यस कठिन घडीमा राज्यका सबै निकाय, राजनीतिक दल, सामाजिक संघ–संस्था र आम नागरिकबीच सहकार्य र मानवीय एकता अझ बलियो हुनुपर्नेमा जोड दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *